कांतिपुर ओन लाइन २०१० ७/ १७

१ - जथाभावी मोबाइल सिमकार्ड बेच्दै हुनुहुन्छ ? कतै तपाईंको नाममा अरूले नै सिम चलाइरहेको छ कि ? अब सचेत रहनुस्, प्रक्रिया पूरा नगरी सिमकाड बेचे कारबाहीको दायरामा पर्नुहुनेछ । यसरी निकालिएका सिम आपराधिक क्रियाकलापमा प्रयोग भएको भेटिएपछि प्रहरीले कारबाही

थालेको छ ।

यस्तै अभियोगमा गोंगबुमा स्टेसनरी पसल गर्दै आएका नुवाकोटका नवराज ढकाल अहिले हनुमानढोकास्थित प्रहरी हिरासतमा छन् । उनले गत असार २१ गते बेचेको ९८०८७०४०४६ नम्बरको सिमबाट एक व्यापारीलाई धम्की आएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी अपराध महाशाखाका निरीक्षक सोमेन्द्रसिंह राठौर भन्छन्, 'फुटपाथमा तरकारी बेचे जसरी प्रक्रिया पूरा नगरी सिम बेचिएको छ, धम्की दिने पहिचान गर्न गाह्रो भयो ।'

ढकालले २० रुपैयाँ नाफा पाउने भएपछि आपmनो नम्बर 'सम्पर्क नम्बरमा' राखिदिएको बताएका छन् । 'सिम किन्न आयो, सम्पर्क नम्बरको स्थानमा आफ्नो नम्बर राखिदिएर २० रुपैयाँ लिएको हो' उनले भने 'लिने मान्छे को हो, थाहा छैन ।' उक्त नम्बर लमजुङका मणिकुमार लामाको नाममा वितरण गरिएको छ । तर, सिम लिन राखिएको नागरिकता प्रमाणपत्रको प्रतिलिपि र फारममा टाँसिएको फोटो फरक देखिएको निरीक्षक राठौरले बताए । 'अनुहार पटक्कै मिल्दैन, अर्काको नागरिकताको प्रतिलिपिका आधारमा मोबाइल लिएको देखिन्छ ।'

नेपाल टेलिकम र एनसिएल मोबाइलले व्यवस्थितरूपमा सिमकार्ड वितरण नगर्दा फोन धम्की बढेको महाशाखा प्रमुख रणबहादुर चन्द बताउँछन् । 'एक जनाको नाममा सिम दर्ता छ, अर्को मान्छेले प्रयोग गरिरहेको हुन्छ' चन्दले भने, 'गलत विवरण राखेर निकालिएको नम्बरबाट फोन र एसएमएस धम्की बढेको छ ।' प्रविधिले फ्डको मारेअनुसार टेलिकमले त्यो अनुसारको व्यवस्थापन गर्न नसक्दा दिनहुँ समस्या बढ्दै गएको उनी बताउँछन् ।

उनले मोबाइलका सिमकार्ड वितरकले गलत विवरण राखेर सिम बेचेका कारण मोबाइल प्रयोग गरेर अपराध गर्ने व्यक्ति पक्राउ गर्न कठिन भएको बताए । 'सिमको पैसा पायो भन्दैमा पूरा विवरण नराखी सिम बिक्री गर्नु भएन, उनीहरूलाई पनि जिम्मेवार बनाउनुपर्छ ।' चन्दले सेवा प्रदायक कम्पनीसँग पटक-पटक छलफल गर्दा पनि उनीहरूले चासो नदिएको दाबी गरे ।

अपराध महाशाखाले केही समयअघि भिओआइपी -भ्वाइस ओभर इन्टरनेट प्रोटोकल इन्टरनेट) बाट कल ठगी गर्ने बुटवलको एउटा समूहबाट मात्रै २७ सय सिम बरामद गरेको थियो । काठमाडौंका विभिन्न स्थानबाट प्रहरीले ७ सय ५७ र एनसेलका एक हजार तीन सय ५१ सिम ६ व्यक्तिबाट बरामद गरेको थियो । ठूला अपहरण वा हत्याका घटना भए लगत्तै फोन धम्की बढ्ने गरेको प्रहरीको निष्कर्ष छ ।

प्रहरीका अनुसार डाक्टर भक्तमान श्रेष्ठको अपहरणपछि फोन धम्की बढेको छ । 'भक्तमान अपहरण गर्ने समूहको मान्छे हो, भक्तमान त ठूलो पैसा तिरेर फर्कियो, मागेजति पैसा नदिए नफर्किने गरी समाप्त पारिदने' व्यहोराका एसएमएस र फोन आउने गरेको प्रहरीको भनाइ छ ।

अपराध महाशाखाको तीन वर्षे तथ्यांकले पनि यो आर्थिक वर्षमा फोन धम्की बढेको देखाउँछ । आर्थिक वर्ष २०६४/६५ मा २४ वटा थिए भने ०६५/६६मा ३१ वटा फोन धम्की आएका छन् । यो ०६६/६७ मा ५६ वटा फोन धम्कीका घटना भएका छन् ।

No comments: